काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२र०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि खुलाएको १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्। आवेदन ७७ वटै जिल्लाका विद्यार्थीहरुको परेको महानगरले जनाएको छ ।
महानगरको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार, आवेदन दिनेहरूमध्ये १२ हजार ३३७ जनाले विज्ञान विषय, ४ हजार ४८१ जनाले व्यवस्थापन, ३४ जनाले मानविकी, १०४ जनाले शिक्षा, र २७३ जनाले कानुन विषय रोजेका छन्। यो विवरणले विज्ञान विषयप्रति विद्यार्थीहरूको आकर्षण उच्च रहेको देखाउँछ, जसले कुल आवेदनको करिब ७१ प्रतिशत ओगटेको छ।
हाल सबै आवेदनहरूको छानबिन प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुनेछ। त्यसपछि बाँकी प्रक्रियाहरू सकेर साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ।
विद्यार्थीहरूले आफ्नो प्रवेश पत्र काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np वा https://entrance.kathmandu.gov.np/ मा गएर “एडमिट कार्ड” बटन क्लिक गरी आवश्यक विवरण भरेर प्राप्त गर्न सक्नेछन्। सो प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी विवरण पनि समावेश हुनेछ।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित रहनेछ, जसमा अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न रहनेछन्। सबै प्रश्न बहुवैकल्पिक (MCQ) हुनेछन्। पास हुन कम्तीमा ४० प्रतिशत अंक अनिवार्य हुनेछ भने गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन।
परीक्षापछि तयार हुने मेरिट सूचीका आधारमा योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रम आर्थिक रूपमा कमजोर तर मिहिनेती विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा मनपर्ने संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गर्न र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न उद्देश्यसहित ल्याइएको हो। शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, महानगरपालिका यस कार्यक्रममार्फत विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्य निर्माणतर्फ अग्रसर रहेको छ।