शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपरेशन) तथा ब्रिज कोर्सका नाममा सञ्चालन हुँदै आएका कक्षाहरू बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा बन्द गरिनेछ।
मन्त्रालयका अनुसार पछिल्लो समय विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुभन्दा अघि नै निजी शैक्षिक संस्थाहरूले विद्यार्थीलाई लक्षित गर्दै इन्ट्रान्स तयारी र ब्रिज कोर्स सञ्चालन गर्दै आएका थिए। तर, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समान पहुँचमा पनि बाधा पुर्याएको ठहर गरिएको छ। साथै, अभिभावकमाथि अनावश्यक आर्थिक भार समेत थपिएको मन्त्रालयले जनाएको छ।
यसै सन्दर्भमा मन्त्रालयले कक्षा १२ लगायत विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएका सम्पूर्ण प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्ने निर्णय लिएको हो। उक्त निर्णय मन्त्रीस्तरबाट २०८२ साल चैत १५ गते स्वीकृत भएको जनाइएको छ।
मन्त्रालयले सम्बन्धित सबै शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। यदि यस निर्णयको अवज्ञा गर्दै यस्ता कक्षाहरू सञ्चालन गरिएको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। साथै, अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई पनि आवश्यक पहल गर्न अनुरोध गरिएको छ।