टोकन प्रणाली हट्यो, श्रम स्वीकृति अब एकै दिनमा, अभिमुखीकरण तालिम अनलाइन हुने

वैदेशिक रोजगार विभागअन्तर्गत अबदेखि टोकन प्रणाली हटाएर सेवा प्रक्रियालाई थप सरल र छिटो बनाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसअघि सेवाग्राहीले श्रम स्वीकृति लिन टोकन लिएर लामो समय कुर्नुपर्ने व्यवस्था खारेज गरिएको स्पष्ट पारेको छ। नयाँ व्यवस्थाअनुसार अब आवेदन दिएको दिनमै आवश्यक कागजात पूरा भएमा श्रम स्वीकृति दिने प्रणाली लागू गरिएको छ, जसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा लिनुपर्ने प्रस्थानपूर्व अभिमुखीकरण तालिमलाई पनि पूर्ण रूपमा डिजिटल (अनलाइन) प्रणालीमा रूपान्तरण गरिने भएको छ। हालसम्म सूचीकृत तालिम संस्थाहरूमा भौतिक रूपमा उपस्थित भएर दुई दिनसम्म तालिम लिनुपर्ने व्यवस्था थियो। तर अबदेखि उक्त तालिमको सम्पूर्ण पाठ्यक्रम श्रव्य–दृश्य सामग्री (audio-visual content) मार्फत अनलाइन प्रणालीबाट उपलब्ध गराइनेछ। यसले श्रमिकलाई समय र खर्च दुवै बचत हुनुका साथै तालिम पहुँच अझ सहज हुने मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार यो नयाँ प्रणालीमार्फत श्रमिकहरूले आफ्नो समयअनुसार तालिम लिन सक्नेछन् र आवश्यक आधारभूत जानकारी, सुरक्षा सचेतना, श्रम अधिकार, गन्तव्य देशका नियम तथा जोखिमबारे विस्तृत जानकारी भिडियो तथा डिजिटल सामग्रीमार्फत प्राप्त गर्न सक्नेछन्।

यसैबीच, आइतबार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहले श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले रोजगारदाताहरूले तोकिएको न्यूनतम ज्याला अनिवार्य रूपमा लागू गर्नुपर्ने र कुनै पनि प्रकारको श्रम शोषण हुन नदिन निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार