छात्रवृत्ति विवरण अनिवार्य पेस गर्न काठमाडौँ महानगरको विद्यालयहरुलाई निर्देशन

कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान कडाइका साथ लागु गरेको काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई छात्रवृत्ति विवरण अनिवार्य रूपमा समयमै पेस गर्न सूचना जारी गरेको छ।
शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई दिइने छात्रवृत्तिको विवरण २०८२ साल जेठ १ गतेभित्र अनलाइन प्रणालीमार्फत अनिवार्य रूपमा पेश गर्न महानगरले आग्रह गरेको हो । विद्यालयहरूले प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी अनलाइनमार्फत विवरण प्रविष्ट गर्नु पर्नेछ । महानगरका अनुसार, छात्रवृत्तिमा जेहेन्दार, विपन्न, अपाङ्गता भएका, दलित, महिला, जनजाति, शहीद परिवार र हिंसापीडित विद्यार्थीहरूलाई प्राथमिकतामा राख्नुपर्नेछ। छात्रवृत्ति वितरण छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार मात्र गर्न विद्यालयहरुलाइ महानगरले निर्देशन जारी गरेको छ । समयमै विवरण पेस नगरिएमा शिक्षा ऐन, २०७५ अनुसार विद्यालयको अनुमति रद्द गर्नेसम्मको कानुनी कारबाही गरिने चेतावनी पनि महानगरले दिएको छ। शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३,००० भन्दा बढी विद्यार्थीहरूले र शैक्षिक सत्र २०८१ मा १९,००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको विवरण काठमाण्डौ महानगरपालिका का मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार