साढे चार लाखभन्दा बढी विद्यार्थी सहभागी यस वर्षको एसइइ परीक्षाको नतिजाले समग्र रूपमा सुधारको संकेत दिएको छ। कुल ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागी भएका यस परीक्षामा A+ र A ल्याउने विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमध्ये ४८ हजार १ सय ७७ जनाले A+ (३.६–४.० जिपिए) ल्याएका छन्। यो संख्या आफैंमा उच्च प्रदर्शनकर्ताको उत्साहजनक उपस्थिति हो। ८१ हजार ३८५ जना विद्यार्थीले A (३.२–३.६ जिपिए) ल्याएर पनि राम्रो प्रदर्शन गरेका छन्। यसरी हेर्दा करीब ३०% विद्यार्थीले औसतभन्दा माथिको जिपिए ल्याएका छन्, जुन विगतको तुलनामा उल्लेखनीय वृद्धि हो।
यसैगरी ८९ हजार १ सय २४ जनाले B+ (२.८–३.२) ल्याएका छन्, जसलाई पनि सकारात्मक मान्न सकिन्छ। B (२.४–२.८) ल्याउनेको संख्या ४८ हजार ४७९ रहेको छ, जुन सामान्य श्रेणीको संकेत हो। यद्यपि, २.० मुनिको जिपिए ल्याउने विद्यार्थी संख्या निकै कम देखिएको छ—C+ ल्याउने ४ हजार १२६ र C ल्याउने जम्मा ८ जना मात्रै छन्। यस्तो न्यून प्रदर्शन गर्ने विद्यार्थीको संख्या घट्नु पनि शिक्षण पद्धति र प्रणालीमा भएको सुधारको संकेत हो।
तर, नतिजाको अर्को पाटोले चिन्ताको संकेत पनि देखाउँछ। १ लाख ६७ हजार ५ सय ९७ जना विद्यार्थीले NG (Not Graded) प्राप्त गरेका छन्, जुन करिब ३८ प्रतिशत विद्यार्थी संख्या हो। यो आँकडा अझै पनि शिक्षा क्षेत्रमा समावेशी पहुँच, सिकाइको गुणस्तर र विद्यार्थीहरूको मानसिक, शैक्षिक अवस्थासँग जोडिएको कमजोरीलाई उजागर गर्छ। विगत वर्षको तुलनामा यसपटक उत्कृष्ट र मध्यम श्रेणीको जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ भने, NG (Not Graded) ल्याउने विद्यार्थीहरूको संख्या घटेको देखिन्छ।
गत वर्ष २०८० मा एसइइ परीक्षामा करीब ५१ प्रतिशत विद्यार्थीले NG अर्थात् “नतिजा प्राप्त गर्न नसक्ने” स्थितिमा परेका थिए। त्यसमध्ये धेरैजसो विद्यार्थीले न्यूनतम ग्रेड समेत प्राप्त गर्न सकेका थिएनन्। यद्यपि, २०८१ सालमा सो प्रतिशत घटेर करिब ३८ मा झरेको छ, जुन १३ प्रतिशत सुधार हो।