अध्यागमन विभागले भिसासम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली अनिवार्य रूपमा लागू गर्ने भएको छ।
विभागका अनुसार, भिसाको म्याद थप (Visa Extension) तथा भिसा रूपान्तरण (Visa Conversion) जस्ता सेवाका लागि केही दिन अत्यधिक भीड र केही दिन न्यून सेवाग्राही उपस्थित हुने अवस्थालाई व्यवस्थापन गर्न यो प्रणाली लागू गरिएको हो। यसबाट दैनिक सेवाग्राहीको चाप सन्तुलित हुने र सेवा प्रवाह थप सहज बन्ने अपेक्षा गरिएको विभागले जनाएको छ।
यो प्रणाली गत असार १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा रहेको थियो। आगामी आर्थिक वर्षको सुरुआतसँगै २०८३ साउन १ गतेदेखि प्रत्येक घण्टाका लागि आवेदनको निश्चित कोटा कायम गरी सोही अपोइन्टमेण्टका आधारमा मात्र सेवा प्रदान गरिने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।
अध्यागमन विभागले नेपालमा रहेका सम्पूर्ण विदेशी राहदानीवाहक तथा सरोकारवालालाई उपलब्ध अपोइन्टमेण्ट स्लट अनुसार समय सुनिश्चित गरी तोकिएको समयमा मात्र विभागमा उपस्थित हुन आग्रह गरेको छ। यसबाट कार्यालयको कार्यसम्पादन थप मर्यादित, व्यवस्थित र सेवामैत्री बन्ने विश्वास विभागको रहेको छ।