ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ उद्यमी, स्टार्टअप तथा साना–मझौला व्यवसायलाई लक्षित गर्दै ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
कार्यक्रम अन्तर्गत २ हप्ते बिजनेस एक्सेलेरेशन र ५–६ महिनाको बिजनेस इन्क्युबेशन सञ्चालन गरिनेछ। दर्ता भएका व्यवसाय, स्टार्टअप तथा नयाँ व्यवसायिक आइडिया भएका नेपाली नागरिक वा संस्थाले आवेदन दिन सक्नेछन्।
सहभागीहरूले व्यवसाय विकास, मेन्टरसिप, वित्तीय व्यवस्थापन, कानुनी परामर्श, बजार विस्तार, डिजिटल सीप तथा लगानीकर्ता र व्यवसायिक सञ्जालसँग जोडिने अवसर प्राप्त गर्नेछन्। कार्यक्रम प्रत्यक्ष ऋण वा अनुदानका लागि नभई व्यवसायलाई बैंक–रेडी र ग्रोथ–रेडी बनाउन केन्द्रित रहेको बैंकले जनाएको छ।
प्रविधि, कृषि, पर्यटन, उत्पादन र सेवा क्षेत्रका उद्यमीहरूका लागि खुला यस कार्यक्रममा महिला, सीमान्तकृत समुदाय, दुर्गम क्षेत्र तथा फरक क्षमता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
इच्छुकले ग्लोबल आइएमई बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘Global IME Udhyamshala’ आवेदन फाराममार्फत (https://shorturl.at/BxFPF) आवेदन दिन सक्नेछन्। आवेदन जुन २७, २०२६ देखि खुला भएको बैंकले जनाएको छ।