कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीका अनुसार, यस वर्ष उखुको मूल्य (सरकारी अनुदान बाहेक) प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकिएको छ। गत वर्ष उद्योगीहरूले किसानलाई उखुको मूल्य ५६५ रुपैयाँ दिएका थिए।
मन्त्री अधिकारीले नेपालखबरसँग भने, “यस वर्ष उद्योगहरूले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ हो, यो मूल्यमा सरकारले दिने अनुदानको रकम समावेश गरिएको छैन।”
गत वर्ष सरकारले किसानलाई उखुमा ७० रुपैयाँको अनुदान दिएको थियो, जसका कारण किसानले ६३५ रुपैयाँ प्रतिक्विन्टल पाएका थिए। तर यस वर्ष कति अनुदान दिने विषयमा निर्णय हुन बाँकी रहेको मन्त्री अधिकारीले बताए। उनले भने, “हामीले यस वर्ष पनि किसानलाई गत वर्षको जति अनुदान दिने प्रस्ताव गरेका छौँ।”
मन्त्री अधिकारीका अनुसार, यदि यस वर्ष पनि सरकारले गत वर्षको जस्तो अनुदान निर्धारण गर्छ भने, किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपैयाँ पाउनेछन्। उनले यस वर्ष अनुदानको रकम घट्ने छैन भने।
उखुको मूल्य निर्धारण सरकार, उद्योगी र किसान प्रतिनिधिहरूसँगको आपसी सहमतिमा गरिएको मन्त्री अधिकारीले बताए। उनले थपे, “हामीले सिजनको शुरुआतमा नै उखुको मूल्य निर्धारण गरेर किसानलाई उद्योगहरूमा उखु पठाउन आग्रह गरेका छौँ।”
किसानहरूले हरेक वर्ष उखुको न्यायोचित मूल्य नपाउने गुनासो गर्दै आएका छन्। विगतका वर्षहरूमा सरकारले तोकेको मूल्य पनि किसानले वर्षौंपछि मात्र पाउने समस्या थियो। तर, गत वर्षदेखि उद्योगीहरूले किसानलाई उखुको भुक्तानी समयमै दिन थालेका छन्।
तराई–मधेसका धेरै किसानहरूले उखु खेती छाड्न थालेका छन्, किनकि उखु उत्पादनमा लागत मूल्यसमेत नउठ्ने अवस्था आएको छ। यसका कारण चिनी उद्योगहरूलाई उखु पेल्न समस्या परेको छ र केही उद्योगहरू बन्द भइसकेका छन्।