काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहार (दीपावली) पर्वमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रोत्साहन गर्न ३२ स्थान तोकेको छ। यो अभियानको मुख्य उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु रहेको महानगरले जनाएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले भने, “हामी निर्वाचित भएदेखि नै स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुको निरुत्साहन गर्न निरन्तर प्रयासरत छौँ। यस तिहारमा पनि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि व्यवस्था गरिएको छ। हाम्रो उद्देश्य नेपाली किसानलाई समर्थन र स्वदेशी उत्पादनलाई सम्मान गर्नु हो।”
गत तीन वर्षदेखि महानगरले तिहारको समयमा स्वदेशी फूल प्रवर्द्धनका लागि विशेष बिक्री स्थल व्यवस्था गर्दै आएको छ। यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच, ढुवानीमा सहयोग र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाहीको तयारी गरिएको छ।
नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँग सहकार्य गर्दै महानगरले कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन गर्ने भएको छ। प्रमुख शाहले थपे, “हाम्रो चाहना वास्तविक किसानले उत्पादनको उचित मूल्य पाऊन् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गरून्।”
नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको बताइएको छ। प्रमुख शाहले सबै व्यापारीलाई स्वदेशी फूलमाला मात्र प्रयोग र बिक्री गर्न आग्रह गर्दै भने, “वास्तविक किसानले डोकोमा फूल ल्याए पनि हामीले तोकिएका केन्द्रमा बिक्री गर्न सहज बनाउनेछौँ। आवश्यक परे ढुवानीमा समेत महानगरले सहयोग गर्नेछ।”
महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार, किसानहरूले कार्तिक १ गतेदेखि तोकिएका स्थानमा फूलमाला बिक्री–वितरण गर्न सक्नेछन्। कुनै समस्या परे महानगर प्रहरीमार्फत समन्वय गरिनेछ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कृषि, वन र जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले भने, “आयातित र प्लास्टिकजन्य फूलको बहिष्कार गर्दै स्वदेशी फूललाई प्राथमिकता दिनु सकारात्मक कदम हो। यसले विचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुर्याउँछ।”
श्रेष्ठका अनुसार, आयातित मालामा विषादी प्रयोग हुने, एकनासे साइज र एकरूप धागोमा बनेका हुन्छन्, जबकि स्वदेशी फूलहरू प्राकृतिक रूपमा ओइलाउने र स–साना आकारका हुन्छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले भने, “महानगरको यो अभियानलाई सफल बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।” उनले पुष्प व्यवसायीहरूलाई कोल्ड स्टोरमा माला भण्डारण नगर्न र स्वदेशी फूल प्रवर्द्धनमा ध्यान दिन आग्रह गरे।
एसोसिएसनका महासचिव हिरामणि शर्माले भने, “नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र फूल आयात गर्न पाइन्छ। सयपत्री फूलमा १६ किसिमका रोग फैलिन नदिने मापदण्ड पूरा गर्न हालसम्म कसैले सकेका छैनन्, त्यसैले अहिले आउने आयातित फूलहरू अवैध छन्।”
उनका अनुसार, तिहारको पाँच दिनमा करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला नेपालकै उत्पादनबाट आपूर्ति गर्न सकिन्छ। बाँकी गाउँघरबाट आपूर्ति गर्न सकिने भएकाले अब बाहिरबाट फूल आयातको आवश्यकता छैन। नेपाल मखमली फूलमा पूर्ण आत्मनिर्भर भइसकेको र करिब २ लाख मखमली माला निर्यात गर्न सकिने बताइएको छ।
यस वर्ष सयपत्री मालाको मूल्य करिब १३० रुपैयाँ र मखमली मालाको मूल्य ६०–६५ रुपैयाँसम्म हुने अनुमान गरिएको छ। सो भन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्ने जनाएको छ।
काठमाडौँ महानगरपालिकाले तोकेका ३२ फूलमाला बिक्री स्थलहरूः
१. एन.भी. सेन्टर – नयाँ बानेश्वर
२. बिग मार्ट – शंखमूल
३. आइ प्लेक्स मल – नयाँ बानेश्वर
४. सेल्सबेरी – मध्यबानेश्वर
५. फोनेक्स टावर – बत्तीसपुतली
६. तिनकुने चौर – तिनकुने
७. सिफल चौर – सिफल
८. एसी कम्प्लेक्स – चाबहिल
९. चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
१०. के.एल. टावर पूर्व – चाबहिल
११. चाबहिल सेन्टर अगाडि – चाबहिल
१२. धर्म चक्र पार्क – स्वयम्भू
१३. कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
१४. द्यौखेल – कालिमाटी
१५. भाटभटेनी – कलङ्की
१६. भ्याली कोल्ड स्टोर – नयाँ बजार
१७. बुद्ध महल – माछापोखरी
१८. गुणस्तर खाल्डो – माछापोखरी
१९. वडा ५ अगाडिको डबली – हाँडीगाउँ
२०. गणेश मन्दिर डबली – हाँडीगाउँ
२१. कोइराला स्मार्ट – सामाखुशी, वडा २६
२२. सेल्सबेरी – महाराजगञ्ज
२३. बिग मार्ट – गङ्गबु
२४. बिग मार्ट – चपलकारखाना
२५. बिग मार्ट – बालुवाटार
२६. आइटी भवन – कमलादी, वडा २८
२७. स्टार मल – पुतलीसडक, वडा २८
२८. भाटभटेनी – अनामनगर, वडा ९
२९. टेवाल मन्दिर – सुन्धारा
३०. काठमाडौँ महल – सुन्धारा
३१. वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
३२. बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट
काठमाडौँ महानगरपालिकाले नेपाली किसानको मेहनत र स्वदेशी उत्पादनको सम्मानस्वरूप यो अभियानलाई निरन्तरता दिएको बताउँदै सहज समन्वयका लागि सम्पर्क नम्बर ०१–५९०१७८३, ०१–५६०१७४ र मोबाइल ९८५१३५६५०९ सार्वजनिक गरेको छ।