भाटभटेनी सुपरस्टोरले आफ्नो बहादुर सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मानसहित पुरस्कृत गरेको छ। पराजुलीले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको घटनामा अदम्य साहस देखाएका थिए।
आन्दोलनको क्रममा केही व्यक्तिहरूले भाटभटेनी सुपरमार्केटमा लुटपाटको प्रयास गर्दा पराजुलीले बहादुरीपूर्वक प्रतिकार गर्दै लुटेराहरूलाई खेदाएका थिए। उनको साहसले भाटभटेनीका अन्य सुरक्षा गार्डसमेत प्रतिकारमा उत्रेका थिए । उक्त आन्दोलनका क्रममा प्रहरीलेसमेत कतै केहि जोगाउन नसक्दा सुरक्षा गार्डहरुद्धारा भाटभटेनीको ठुलो क्षति हुनबाट जोगिएको थियो । उनको यो साहसिक कार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणले खुलेर प्रशंसा गरेका छन्।
बुधबार एक विशेष कार्यक्रमका बीच भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले पराजुलीलाई सम्मान गर्दै पाँच लाख रुपैयाँ नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरेका छन् ।
आन्दोलनकै क्रममा लुटपाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेललाई पनि जनही २५ हजार १ रुपैयाँ नगद पुरस्कार तथा एक ग्रेड बढुवा दिइएको छ। भाटभटेनीका ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार १ सय ११ रुपैयाँ र दुई ग्रेड बढुवा गरिएको छ।
Video: https://youtu.be/8ULuaYtzQt8