नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System – FNMIS) विकास गरेको छ। उक्त प्रणाली आगामी वि.सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रूपमा कार्यान्वयन हुने भएको छ।
विभागका अनुसार, प्रणालीको पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ। दोस्रो चरणमा भने वि.सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा लागू गरिने योजना रहेको छ। यसका साथै क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस तथा सार्वजनिक र निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि प्रणाली विस्तार गरिनेछ।
FNMIS प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक तथा निजी निकायहरूलाई प्रणालीमा दर्ता हुन आग्रह गरिएको छ। हालसम्म प्रणालीमा आबद्ध हुने निकायहरूको संख्या न्यून रहेको भन्दै अध्यागमन विभागले यथाशीघ्र दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
पहिलो चरणमा उपत्यकाका तारे होटलहरूमा अनिवार्य भए पनि विदेशी नागरिकलाई सेवा दिने सबै संस्थाहरूले अग्रिम रूपमा प्रणालीमा आबद्ध हुन सक्ने विभागले जनाएको छ। प्रणालीमा दर्ता हुने प्रक्रिया तथा म्यानुअल अध्यागमन विभागको वेबसाइट www.immigration.gov.np मा उपलब्ध रहेको छ।