विदेश जानुअघि दिने अभिमुखीकरण तालिम शुल्क ७०० रुपैयाँभन्दा बढी लिए कारवाही

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि प्रदान गरिने प्रस्थानपूर्व अभिमुखीकरण तालिममा ७०० रुपैयाँभन्दा बढी शुल्क नलिन कडा निर्देशन दिएको छ।

पछिल्लो समय केही अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले श्रमिकसँग २ हजार १ सय रुपैयाँसम्म असुल्दै आएको गुनासो आएपछि विभागले यस्तो स्पष्ट निर्देशन जारी गरेको हो। विभागले तोकिएको शुल्कभन्दा बढी रकम लिन नपाइने जनाउँदै यदि कसैले बढी रकम लिएको प्रमाण भेटिएमा इजाजत रद्ध गरिने विभागले जनाएको छ ।।

विभागले सेवाग्राहीलाई कुनै पनि संस्थाले बढी शुल्क तिर्न बाध्य पारेमा तत्काल उजुरी गर्न आग्रह गरेको छ। उजुरीका आधारमा सम्बन्धित संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

हालको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने युवाहरूले अनिवार्य रूपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने प्रावधान रहेको छ। उक्त तालिममार्फत श्रमिकलाई गन्तव्य देशको कानुन, कामको प्रकृति, सुरक्षासम्बन्धी जानकारी तथा श्रमिक अधिकारबारे जानकारी दिइन्छ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकट भविष्यमा अभिमुखीकरण तालिमलाई श्रव्य दृष्यको समाग्री तयार गरी डिजीटल माध्यममार्फत गर्ने तयारी अघि बढाएको छ।

सम्बन्धित समाचार