काठमाडौँमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाका अनुसार हाल बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधनको अभाव हुँदा सर्वसाधारणले महँगो यातायात प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो।

रात्रिकालीन सेवाअन्तर्गत दुईवटा मुख्य रुट निर्धारण गरिएको छ। पहिलो रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। उत्तर–दक्षिण दिशाको यो रुट करिब १६ किलोमिटर एकतर्फी दूरीको हुनेछ।

त्यस्तै दोस्रो रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। पूर्व–पश्चिम दिशाको यो रुट करिब २० किलोमिटर एकतर्फी दूरीको रहनेछ।

यी दुवै रुटमा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ। सेवा सुरु भएपछि बेलुका ८ बजेदेखि राति ११ बजेसम्म हरेक २० मिनेटको अन्तरमा बस सेवा उपलब्ध हुनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले सार्वजनिक यातायातको अभावका कारण विशेषगरी महिला, किशोरी र विद्यार्थीले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै यस सेवाले त्यसमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने यात्रुको सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिने जनाइएको छ। महानगरपालिकाले यस सेवालाई सुरक्षित, सहज र भरपर्दो दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित समाचार