उच्च शिक्षा पश्चात नेपाली युवालाई देश विकासमा जोड्नुपर्छ: बेलायती राजदूत फेन

नेपालका लागि बेलायती राजदूत रब फेनले उच्च शिक्षाका लागि विदेश जाने नेपाली युवाहरूलाई अध्ययनपछि स्वदेश फर्कने उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। मंगलबार युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट (युएलसिआई)ले आयोजना गरेको नेपाल–यूके एजुकेशनल कोलाबोरेशनल फोरममा बोल्दै राजदूत फेनले शिक्षासँगै दक्षता हासिल गर्ने चाहनाले अहिलेका युवाहरूलाई विदेश जान प्रेरित गरेको बताए। यो चाहनालाई नकरात्मक रूपमा नलिनुपर्ने र युवाहरूलाई नेपाल फर्काएर देशको विकासमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए।राजदूत फेनले नेपाललाई विश्वभरका अनुसन्धानकर्ता र वैज्ञानिकहरूको लागि एक महत्त्वपूर्ण थलो बनाउन सक्ने सम्भावनाबारे चर्चा गर्दै यसलाई उजागर र प्रोत्साहन गर्न आवश्यक रहेको बताए।


कार्यक्रममा नेपाल र बेलायत बीच शैक्षिक र विकासको क्षेत्रमा भएका सहकार्यहरूको बारेमा ब्रिटिश काउन्सिल, इटिएस नेपाल, एसोसिएशन अफ ब्रिटिश एल्मुनाई इन नेपाल (एबान), इक्यान र आइरिनका प्रतिनिधिहरूले विचार व्यक्त गरेका थिए। बेलायतमा प्राप्त शिक्षा नेपाल फर्केर देशको विकासमा योगदान पुर्याउने विषयमा समेत बक्ताहरुले धारणा राखेका थिए।


कार्यक्रमको आयोजक युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटका सिइओ, उत्तम प्रसाद पन्तले नेपाल र यूके बीच शैक्षिक सहकार्यलाई थप प्रगति दिलाउने उद्देश्यले यो संवाद कार्यक्रम आयोजना गरिएको बताए। उनले उच्च शिक्षा प्राप्त गर्न बेलायत जाने विद्यार्थीहरूको प्रस्थानदेखि स्वदेश फर्कने समग्र प्रक्रियामा सहयोग पुर्याउने सरोकारवालाहरूसँगको सहकार्यलाई बढावा दिने उदेश्य कार्यक्रमको रहेको स्पष्ट पारेका थिए।

कार्यक्रममा युएलसिआईका अपरेशन लिड, प्रशान्त पराजुलीले नेपाल र बेलायत बीच शैक्षिक सहकार्यका विभिन्न आयामहरूमा युएलसिआईले निरन्तर संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा युएलसिआईका सिइओ पन्तले राजदूत फेन र अन्य वक्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

भिडियो: https://youtu.be/FHu5a6MkZr0

सम्बन्धित समाचार