त्रिभुवन विमानस्थलमा अब उडानभन्दा एक घण्टा अघि चेक-इन अनिवार्य, ओभरबुकिङ हट्दै

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा सुधार र यात्रु सहजता बढाउन अब यात्रुले आफ्नो उडान समयभन्दा कम्तीमा एक घण्टा अघि चेक-इन प्रक्रिया पूरा गरी अध्यागमन डेस्कमा पुगिसक्नुपर्ने भएको छ। त्यसपछि उक्त उडानका लागि Check In कार्य बन्द गर्ने निर्णय भएको छ। अध्यागमन विभागमा महानिर्देशकको अध्यक्षतामा साउन १४ गते बसेको सर्वपक्षीय बैठकले यो नियमसहितका अन्य महत्वपूर्ण निर्णयहरू गरेको हो। बैठकले विमानस्थलमा देखिएका सबै विकृतिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र सबै निकायले सेवा प्रवाहमा सुधार ल्याउने सहमति जनाएको छ। वायु सेवा कम्पनीहरूले गर्दै आएको ५ देखि १ प्रतिशतसम्मको टिकट ओभरबुकिङ अब तत्काल हटाइने भएको छ।

त्यस्तै, शंकास्पद कागजातसहित विदेश जान खोज्ने यात्रुलाई अफलोड गरी अनुसन्धानका लागि नेपाल प्रहरीमा पठाइनेछ। ग्राउण्ड ह्यान्डलिङको जिम्मेवारी पाएको नेपाल वायु सेवा निगमले Service Level Agreement अनुसार उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने भएको छ। हाल यात्रुको कागजात अभावमा अध्यागमनले मात्र प्रस्थान अनुमति नदिइएको कारण पत्र दिने प्रचलनलाई स्पष्ट पार्दै, अब विमान कम्पनीले बोर्डिङ पास दिन नसक्ने अवस्थामा त्यसको कारण उल्लेख गरी यात्रुलाई लिखित जानकारी उपलब्ध गराउने व्यवस्था लागू हुनेछ।

बैठकमा अध्यागमन कार्यालय, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), सशस्त्र प्रहरी बल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार