गत भदौ महिनामा ६७ हजार ९७२ नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारतर्फ प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार ५९ हजार ९२३ जना पुरुष र ८ हजार ४९ जना महिलाले गत महिनामा अन्तिम श्रम स्वीकृति लिएका हुन् । यो संख्यामा २२ हजार २४० जना बिदा आई पुनः फर्किएका श्रमिक समेत समावेश छन्।
गत वर्षको भदौ महिनामा भने ५७ हजार ४९३ जनाले मात्र श्रम स्वीकृति लिएका थिए। गत वर्ष भन्दा यस वर्षको भदौमा करिब १० हजार बढी श्रमिक विदेशिएका छन्। यसले वैदेशिक रोजगारीको बाध्यता र आकर्षण दुबै पक्ष अझ बलियो रहेको देखाउँछ।
विभागका अनुसार भदौ महिनामा मात्रै २५ हजार २१८ जना नेपाली कामदार संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। यूएई, परम्परागत रूपमा, मलेसिया, कतार र साउदी अरबसँगै नेपाली कामदारको प्रमुख गन्तव्य रहँदै आएको छ। तर, हालैको ‘जेन जेड आन्दोलन’ पछि यूएई सरकारले नेपाली नागरिकलाई भिसा जारी गर्न रोकेको छ। यूएईतर्फको यो कदमले वैदेशिक रोजगारीमा ठुलो चिन्ता थपिदिएको छ । यूएई जस्तो ठूलो गन्तव्य बन्द हुँदा अन्य मुलुकहरुले समेत यो किसिमको निणर्य गर्न सक्ने जोखिम देखिन्छ ।
नेपालको वार्षिक रेमिट्यान्सको ठूलो हिस्सा यूएई लगायतका खाडी मुलुकबाट आउने भएकाले यस निर्णय लामो समय कायम रह्यो भने आन्तरिक अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी सरोकारवालाहरुले दिएका छन्।