७३८ दिनको प्रतिक्षापछि बिपिन फर्किए — तर अन्तिम संस्कारका लागि

हमासको बन्दी अवस्थामा ७३८ दिन बिताएका नेपाली विद्यार्थी बिपिन जोशीको निधन भएको पुष्टि इजरायलको परराष्ट्र मन्त्रालयले गरेको छ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ—

“कृषि वैज्ञानिक बन्ने सपना बोकेका र र्‍याप संगीतप्रेमी बिपिन ऊर्जा, उत्साह र आशाले भरिएका युवक थिए। तर उनको जीवन हमास आतङ्ककारीहरूले निर्ममतापूर्वक अन्त्य गरे। हामी जोशी परिवारको गहिरो शोकमा सहभागी छौँ।”

इजरायली अधिकारीका अनुसार बिपिनको शव हिजो (मंगलबार) गाजाबाट फिर्ता ल्याइएपछि टेल अविभको फरेन्सिक मेडिकल सेन्टरमा गरिएको डिएनए परीक्षणबाट पहिचान पुष्टि गरिएको हो।

२५ वर्षीय बिपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आकस्मिक आक्रमणका क्रममा किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका थिए। उनी त्यहाँ कृषि अध्ययनका लागि गएको मात्र तीन सातापछि उक्त घटना भएको थियो।

बिपिन “Learn and Earn” कार्यक्रमअन्तर्गत इस्रायल पुगेका थिए। कृषिको आधुनिक सीप सिक्ने र भविष्यमा नेपालमा नयाँ प्रविधि ल्याउने लक्ष्य बोकेका उनी इस्रायली समाजमा चाँडै घुलमिल भएका थिए भन्ने विवरण इजरायली परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

इजरायली परराष्ट्र मन्त्रालयले भनेको छ, “हामी जोशी परिवारको गहिरो शोकमा सहभागी छौँ। बिपिनको सम्झना सदासर्वदा प्रेरणादायी रहोस्।

सम्बन्धित समाचार