आर्थिक समृद्धि, रोजगारी र सामाजिक सुरक्षामा केन्द्रित नेकपाको चुनावी प्रतिबद्धता सार्वजनिक

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ।

प्रतिबद्धता पत्र अनुसार नेकपाले आगामी अवधिमा देशलाई २ वर्षभित्र ‘भोकमुक्त नेपाल’ बनाउने लक्ष्य लिएको छ। त्यस्तै, गरिबी दरलाई ५ प्रतिशतमा झार्ने, सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्ने तथा वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने योजना पार्टीले प्रस्तुत गरेको छ। २ वर्षभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त घोषणा गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पार्टीले दलित तथा अल्पसंख्यक नेपाली युवालाई सहुलियत ऋण उपलब्ध गराउने, ५ वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण गर्ने तथा २० शहरलाई स्मार्ट सिटी र ग्रामीण बस्तीलाई स्मार्ट भिलेजका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ।

स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउने लक्ष्यसहित २०८८ सालसम्म सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउने, मन्त्रिपरिषद्को आकार घटाएर सानो बनाउने तथा शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने प्रतिबद्धता पनि नेकपाले जनाएको छ।

यसैगरी, युवा जनशक्तिको विदेश पलायन रोक्ने, आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लगायतका कार्यक्रममार्फत देशको आर्थिक विकासलाई तीव्र बनाउने लक्ष्य पार्टीले लिएको जनाएको छ।

सम्बन्धित समाचार