शिक्षा प्रशासन सुधारको संकेत:एक महिनामै एसईई नतिजा

राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक गरेपछि यसलाई सरकारको प्रभावकारी कार्यशैली र शिक्षा प्रशासनमा देखिएको सुधारको उदाहरणका रूपमा हेरिएको छ।

बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। देशभरबाट परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थिमध्ये २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन्।

अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएकोमा यस वर्ष नतिजा ४.१७ प्रतिशतले सुधारिएको बोर्डले जनाएको छ। २०८० सालमा भने ४७.८६ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए। यससँगै लगातार दोस्रो वर्ष एसईई नतिजामा सुधार देखिएको छ।

यस वर्ष ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२ तथा २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सास्मित पोखरेलले नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै लाखौं विद्यार्थी तथा अभिभावकको प्रतीक्षालाई छोटो समयमा सम्बोधन गर्न सफल हुनु केवल नियमित प्रक्रिया नभई सरकारको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको परिणाम भएको बताएका छन्। उनले परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म दिनरात खटिने शिक्षक–शिक्षिका, कर्मचारी, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

मन्त्री पोखरेलका अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायत सुधारात्मक प्रयासका कारण यस वर्ष छोटो समयमै नतिजा सार्वजनिक गर्न सम्भव भएको हो। उनले यसलाई आगामी दिनमा परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार