पाँच महिनामा १ लाख २५ हजार विदेशी अध्यागमनको ट्रयाकिङमा

अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (Foreign Nationals Monitoring and Information System – FNMIS) को कार्यान्वयन प्रगतिबारे समीक्षा गर्दै पछिल्लो पाँच महिनामा करिब १ लाख २५ हजार विदेशी यात्रुको अभिलेख संकलन गरिएको जनाएको छ।

विभागका अनुसार हालसम्म होटल, ट्राभल एजेन्सी, आन्तरिक विमान कम्पनी तथा विदेशी नागरिकलाई सेवा दिने अन्य सेवा प्रदायक गरी कुल १ हजार ५४३ संस्था प्रणालीमा आवद्ध भएका छन्। तर तीमध्ये केवल ९४ वटा होटल मात्र प्रणालीमा समावेश भएका छन्, जसले कार्यान्वयनको दायरा अपेक्षाकृत सीमित रहेको देखाएको छ।

यो प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटलहरूमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा दिने सबै सेवा प्रदायकहरूमा लागू गरिएको हो। प्रणालीको मुख्य उद्देश्य विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्नु, राष्ट्रिय सुरक्षा मजबुत बनाउनु, विदेशी गतिविधिको अनुगमन गर्नु तथा अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनु हो। साथै, नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्नु पनि यसको लक्ष्य रहेको विभागले जनाएको छ।

समीक्षा बैठकमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासंघ तथा पर्यटक प्रहरी लगायतका निकायहरूको सहभागिता रहेको थियो।

बैठकमा प्रणालीमा होटलहरूको सहभागिता न्यून हुनुको कारण संघ/एसोसिएसनसँग सबै होटल नजोडिनु, जनचेतनाको कमी तथा साना होटलहरू प्रविधिमा आबद्ध हुन नसक्नु रहेको निष्कर्ष निकालिएको छ।

साथै, पर्यटन विभाग र सम्बन्धित निकायहरूले अनुगमन कार्यलाई थप तीव्र बनाउने निर्णय गरिएको छ। प्रणालीबारे देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने, होटल तथा अन्य सेवा प्रदायकलाई थप समेट्ने रणनीति अपनाउने विषयमा पनि सहमति भएको छ।

अध्यागमन विभागले FNMIS लाई अझ प्रभावकारी बनाउन आन्तरिक राजस्व विभाग र पर्यटन विभागसँगको सेवा प्रणाली एकीकृत गर्ने, साथै भिसा आवेदन प्रक्रियामै प्रणालीमा आवद्ध होटल छनौट गर्न सकिने व्यवस्था लागू गर्ने विकल्पमा समेत छलफल भइरहेको जनाएको छ।

सम्बन्धित समाचार