नेपालमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने माग गर्दै वर्षौंदेखि अभियान चलाउँदै आएका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले छुट्टै मन्त्रालय गठन गर्दै पुनलाई यसको नेतृत्व सुम्पेको हो।
दुर्गम गाउँसम्म वायरलेस इन्टरनेट सेवा विस्तार गरेर अन्तर्राष्ट्रिय पहिचान बनाएका पुनले विज्ञान, प्रविधि र अनुसन्धानलाई देश विकासको आधार मान्दै आएका छन्। उनले यसअघि पनि छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालय गठन गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। सरकारले गत वैशाख ३० गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।
मन्त्री पदको शपथपछि पुनले विज्ञान र प्रविधिको क्षेत्रमा तत्काल चमत्कारी परिणाम अपेक्षा गर्न नसकिने बताए। उनले अनुसन्धान र नवप्रवर्तनको प्रभाव देखिन वर्षौं लाग्ने उल्लेख गर्दै आफ्नो क्षमता र अनुभवका आधारमा मन्त्रालयलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए।
पुनले सरकारसँग अनुसन्धान तथा नवप्रवर्तनका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्दै आएका थिए। सोहीअनुसार सरकारले पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन गरेको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले युवा आविष्कारकर्तालाई प्रोत्साहन गर्ने, अनुसन्धानको वातावरण सिर्जना गर्ने तथा देशलाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी र नवप्रवर्तनमुखी अर्थतन्त्रतर्फ लैजाने लक्ष्य राखेका छन्। उनले आफ्नै आत्मकथा बिक्रीबाट संकलित रकम प्रयोग गरी बन्द अवस्थामा रहेको कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने प्रयाससमेत गर्दै आएका छन्।