‘म उद्यमी’ ब्रान्डलाई प्रधानमन्त्रीको साथ

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीहरूका व्यवसायिक गतिविधिमा रहेका व्यवधान हटाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै स्वदेशमै उत्पादन भएका वस्तुहरूलाई देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा प्रवर्द्धन गर्ने वातावरण तयार गरिने जानकारी दिनुभयो।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, नेपाली वस्तु तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विशेष कार्यक्रम सञ्चालन, व्यापार मेला, प्रदर्शनी, बिजनेस–टु–बिजनेस (B2B) कार्यक्रम तथा निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

यसैबीच, महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सहयोग गरिदिन गरेको आग्रहलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा स्वीकार गर्दै उक्त ब्रान्डलाई तत्काल बजारमा ल्याउन आवश्यक सहजीकरण र प्रोत्साहन गरिने विश्वास दिलाउनुभयो।

सम्बन्धित समाचार