वैदेशिक रोजगारीका लागि विदेशबाट आउने मागपत्र (Demand Letter) प्रमाणीकरण प्रणालीमा सरकारले केहि व्यवस्था परिवर्तन गरेको छ । अबदेखि नेपाली कामदारका लागि मागपत्र प्रमाणीकरण गर्दा कामको विस्तृत कार्य विवरण (Job Description) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ। साथै, काम कम्पनीभित्र (Indoor) हो वा कम्पनीबाहिर (Outdoor) भन्ने स्पष्ट खुलाउनुपर्नेछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा साउन १३ गते बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार, एउटै रोजगारीमा Indoor र Outdoor दुवै प्रकृतिका काम गर्नुपर्ने भए त्यसको कार्य-समयसमेत स्पष्ट उल्लेख गरेर मात्र मागपत्र प्रमाणीकरण गरिने व्यवस्था लागू गरिएको छ।
यसअघि मागपत्रमा कामको पदनाम (Job Title) मात्र उल्लेख भए पनि प्रमाणीकरण हुने व्यवस्था थियो। अब भने कामदारले विदेश पुगेपछि गर्नुपर्ने वास्तविक जिम्मेवारी, कार्यक्षेत्र र कामको प्रकृतिसमेत स्पष्ट हुने गरी विस्तृत Job Description अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ। नयाँ व्यवस्थाले उक्त प्रक्रियालाई थप पारदर्शी र जवाफदेही बनाउने विश्वास गरिएको छ।