होल्डिङ सेन्टरका सुकुम्बासीलाई तालिम र रोजगारी दिन सरकारको तयारी

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सीपमूलक तालिम र रोजगारी दिने पहल सरकारले सुरु गरेको छ। सोही अभियानअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका प्रतिनिधिबीच महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।

बैठकमा भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्बासीको रोजगारी तथा सीपमूलक तालिम आवश्यकताबारे गरिएको मूल्याङ्कनको नतिजामाथि छलफल गरिएको थियो।

मूल्याङ्कनअनुसार सहभागीहरू सरसफाइ, माली, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ तथा साना व्यवसाय सञ्चालनलगायतका क्षेत्रमा काम गर्न इच्छुक रहेको पाइएपछि उनीहरूलाई उपयुक्त रोजगारीसँग जोड्ने निर्णय गरिएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सीपमूलक तालिम सञ्चालन गर्ने र रोजगारीका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ।

बैठकमा मन्त्री यादवले सुकुम्बासी समुदायलाई रोजगारी उपलब्ध गराउने कार्यलाई सबै सम्बन्धित निकायले उच्च प्राथमिकतामा राखी प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए।

बैठकमा मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार