भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओद्वारा औषधि र स्वास्थ्य सामग्री पठाइँदै

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि, स्वास्थ्य उपकरण तथा आपत्कालीन टेन्ट पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले करिब एक हजार जनाका लागि पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपत्कालीन टेन्ट समेत पठाउने तयारी गरिएको छ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी काठमाडौं ल्याइसकिएको छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँगै नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा, औषधि तथा अन्य राहत सामग्री उपलब्ध गराउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

बुधबार बिहान करिब ९ बजे रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा अचानक बाढी आएको हो। तिब्बततर्फबाट भोटेकोशी हुँदै आएको बाढीको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ।

सम्बन्धित समाचार