काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि प्रस्तावित राजदूतको नाम सिफारिस गरेको हो।
सरकारका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको हो।
सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट अग्रिमो (Agrément) प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
सरकारले सिफारिस गरेका १३ प्रस्तावित राजदूतमध्ये छिमेकी मुलुकदेखि प्रमुख श्रम गन्तव्यसम्मका देश समेटिएका छन्।
प्रस्तावित राजदूत र सम्बन्धित मुलुकः
- भारत — डा. निश्चलनाथ पाण्डे
- चीन — डा. कल्याणराज शर्मा
- संयुक्त राज्य अमेरिका — चिरनजंग थापा
- बेलायत — पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
- जापान — जिज्ञान कुमार थापा
- इजरायल — सुरेशकुमार कर्ण
- स्पेन — प्राप्ति शेरचन
- जर्मनी — शरू जोशी
- ओमान — डा. पद्माक्षी राणा
- मलेसिया — चूडामणि खरेल
- दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ
- श्रीलंका — डा. मंचला झा
- साउदी अरेबिया — गिरीबहादुर सुनार
यसपटक भारत, चीन, अमेरिका र बेलायतजस्ता महत्वपूर्ण कूटनीतिक गन्तव्यसँगै जापान, मलेसिया, दक्षिण कोरिया, इजरायल, ओमान र साउदी अरेबियाजस्ता नेपालीका महत्वपूर्ण श्रम तथा रोजगारी गन्तव्य पनि राजदूत सिफारिसको सूचीमा परेका छन्।