नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) का प्रथम उपाध्यक्ष तथा ग्लोबल राइजिङ ग्रुपका अध्यक्ष महेश कुमार बस्नेतलाई युनिभर्सल पिस फेडेरेसन (UPF) ले ‘एम्बेसडर फर पिस’ (शान्तिका लागि राजदूत) को उपाधि तथा सम्मान प्रदान गरेको छ।
अक्टोबर २ अर्थात् अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) का उपकुलपति प्रा. डा. जनार्दन लामिछानेले बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन्।
नेपाली समाजमा पुर्याएको योगदान, सामाजिक उत्तरदायित्व तथा शान्ति, सहकार्य र आपसी समझदारी प्रवर्द्धनमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो।

वैदेशिक रोजगार व्यवसाय तथा व्यावसायिक नेतृत्वको क्षेत्रमा लामो समयदेखि सक्रिय बस्नेतले नेपाली युवालाई अन्तर्राष्ट्रिय रोजगारीका अवसरसँग जोड्न र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन विभिन्न भूमिकामा काम गर्दै आएका छन्। रोजगारीमार्फत परिवारको आर्थिक अवस्था सुधार तथा सामाजिक स्थायित्वमा योगदान पुर्याउनुपर्नेमा पनि उनले जोड दिँदै आएका छन्।
सम्मान ग्रहण गर्दै बस्नेतले ‘एम्बेसडर फर पिस’ को उपाधिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाजप्रति थप जिम्मेवार भएर काम गर्ने प्रेरणा र प्रतिबद्धताका रूपमा लिएको बताए। शिक्षा, सीप र रोजगारीलाई विश्व बजारसँग जोड्न सके युवाका लागि अवसर सिर्जना हुनुका साथै परिवारको आर्थिक अवस्था सुधार र शान्तिपूर्ण समाज निर्माणमा समेत योगदान पुग्ने उनको भनाइ थियो।
उनले आगामी दिनमा पनि युवालाई रोजगारीका अवसरसँग जोड्ने, सामाजिक सहकार्य प्रवर्द्धन गर्ने तथा शान्ति, सम्मान र आपसी समझदारीको संस्कारलाई आफ्नो कार्यक्षेत्रबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सन् २००५ मा स्थापना भएको युनिभर्सल पिस फेडेरेसन अन्तर्राष्ट्रिय तथा अन्तरधार्मिक शान्ति सञ्जाल हो। संस्थाले विभिन्न देशका सरकार, नागरिक समाज, धार्मिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताबीच संवाद र सहकार्य प्रवर्द्धन गर्दै शान्ति निर्माण तथा सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
You must be logged in to post a comment.