साउदीमा अवैधानिक कामदारका लागि वैधानिकता पाउने अवसर

साउदी अरेबियाले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई वैधानिकता प्राप्त गर्न २ महिनाको समय दिएको छ।

साउदीको मिनिस्ट्री अफ ह्युमन रिसोर्स एन्ड सोसल डेभलपमेन्टले हुरुब (कामदार अनुपस्थित रहेको भन्दै रोजगारदाताले रिपोर्ट गरेको अवस्था) भएका कामदारहरूलाई १ डिसेम्बर २०२४ देखि २९ जनवरी २०२५ सम्मको ६० दिनको अवधि प्रदान गरेको हो। यस अवधिमा किवा प्रणालीमार्फत हुरुब हटाई नयाँ कम्पनीमा रोजगारी सुरु गर्न सकिनेछ।

किवा प्रणाली साउदी सरकारले रोजगारदाता र कामदारबीचको सम्बन्धलाई व्यवस्थित गर्न विकसित गरेको अनलाइन प्लेटफर्म हो। यसमार्फत कामदारले आफ्नो कार्यअनुभवको प्रमाणपत्र प्राप्त गर्न, रोजगार सम्झौता हेर्न र स्वीकार/अस्वीकार गर्न, नयाँ कम्पनीबाट रोजगारी प्रस्ताव प्राप्त गर्न, र रोजगारीको अवस्था नियमित गर्न सक्नेछन्। साथै, लेबर अफिसमा अपोइन्टमेन्ट लिएर प्रश्नहरूको समाधान गर्न सकिने सुविधा पनि किवामा उपलब्ध छ।

साउदीस्थित नेपाली दूतावासले अवैधानिक अवस्थामा रहेका नेपाली कामदारहरूलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको छ।

प्रक्रिया:
कामदारले किवा सिस्टममा खाता खोली, रोजगार सम्झौतासहित नयाँ कम्पनीमा स्थानान्तरणका लागि अनुरोध गर्नुपर्छ। नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता १० दिनभित्र स्वीकार गर्नुपर्ने प्रावधान छ। यो प्रक्रिया २९ जनवरी २०२५ भित्र पूरा गर्नुपर्नेछ।

कामदारको अनुपस्थितिलाई रोजगारदाताले सिस्टममा रिपोर्ट गरेपछि किवामा आबद्ध कामदारले मोबाइलमा हुरुबको जानकारीसम्बन्धी सन्देश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार