स्वदेशी उत्पादनले सजिएको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सम्पन्न

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ र स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ ९औँ अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८२ सम्पन्न भएको छ। महिला उद्यमशीलताको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा उद्यमीहरूबीच सञ्जाल विस्तार गर्ने उद्देश्यसहित महिला उद्यमी महासंघ नेपाल द्वारा सानेपामा आयोजित मेलाले देशभरका महिला उद्यमीहरूलाई एउटै मञ्चमा ल्याउँदै उनीहरूको सीप, मेहनत र सिर्जनालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।

कर्णालीदेखि मधेश र पहाडदेखि तराईसम्मका उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए। हातले बुनेका सामाग्रीहरु, अचार, चकलेट, मह, ढाका तथा कटनका कपडा, माटाका सामग्री, जुत्ता, टपरीलगायत विविध स्थानीय उत्पादनहरू मेलाका आकर्षण बनेका थिए । मेलामा हेल्भेटास नेपाल अन्तर्गत सञ्चालित इन इलम परियोजना को सहकार्यमा कर्णाली र मधेश प्रदेशका उद्यमीहरूले समेत आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा बजार विस्तार गर्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रममा सर्लाहीकी जुत्ता चप्पल उद्यमी निर्मला महतो लाई ‘प्रदेशस्तरको उत्कृष्ट महिला उद्यमी’को रूपमा सम्मान गरिएको थियो। उनले हेल्भेटासको सहयोगमा जुत्ता चप्पल निर्माण तालिम लिएपछि हरिवनमा जुत्ता कारखाना तथा सोल उत्पादन व्यवसाय स्थापना गरी १८ जनालाई प्रत्यक्ष र ३६ जनालाई अप्रत्यक्ष रोजगारी दिन सफल भएकी थिइन्।

मेलामा सहभागी उद्यमीहरूले यस्तो मञ्चले आफ्नो उत्पादनलाई बजारसम्म पुर्याउने, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र व्यवसाय विस्तारका लागि प्रेरणा दिने महत्वपूर्ण अवसर दिएको बताएका थिए ।

गत शुक्रबार देखि आईतबारसम्म ३ दिन चलेको मेलामा विभिन्न विषयगत सत्रहरू समेत सञ्चालन गरिएको थियो।

सम्बन्धित समाचार