डिजिटल सेवा, कर छुटदेखि युवा कर्जासम्मका योजनासहित नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक

नेपाली कांग्रेसले सुशासन, डिजिटल रूपान्तरण, कर सुधार, युवा रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै प्रतिज्ञापत्र २०८२ सार्वजनिक गरेको छ । पार्टीले सरकारको नेतृत्व पाएमा पहिलो १०० दिनदेखि पाँच वर्षभित्र चरणबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। बुधबार जनकपुरमा आयोजित प्रतिज्ञा सभाबाट सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिज्ञापत्रमा सार्वजनिक सेवालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गरी २४ सै घण्टा सेवा प्रवाह गर्ने घोषणा गरिएको छ। “फाइल होइन, मोबाइल” अवधारणाअनुसार नागरिकले सरकारी सेवा, निवेदन, राजस्व भुक्तानी तथा प्रमाणपत्रसम्बन्धी काम अनलाइनमार्फतै गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ। प्रशासनिक झन्झट घटाई सेवाग्राहीमैत्री र पारदर्शी शासन प्रणाली स्थापना गर्ने लक्ष्य पार्टीले लिएको छ।

आर्थिक क्षेत्रतर्फ कांग्रेसले कर प्रणालीलाई स्थिर र पूर्वानुमेय बनाउने प्रतिज्ञा गरेको छ। व्यक्तिगत आयमा १० लाख रुपैयाँसम्म कर छुट दिने तथा संस्थागत कर क्रमशः घटाउँदै २० प्रतिशतमा झार्ने योजना सार्वजनिक गरिएको छ। यसले लगानी प्रवर्द्धन, उद्योग विस्तार र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने दाबी गरिएको छ।

युवा लक्षित कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि ५ लाखदेखि ५० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने योजना समेटिएको छ। सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत स्वदेशमै अवसर सिर्जना गरी वैदेशिक रोजगारी ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको प्रतिज्ञापत्रमा उल्लेख छ।

स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ। तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने घोषणा गरिएको छ। सरकारी अस्पतालको स्तरोन्नति र आधारभूत स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गरिने पनि जनाइएको छ।

कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै सिँचाइ, भण्डारण, प्रशोधन र बजार पहुँच विस्तार गरिने लक्ष्य छ। किसानलाई उत्पादनको न्यूनतम समर्थन मूल्य सुनिश्चित गरी कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ।

प्रतिज्ञापत्रमा पहिलो १०० दिनभित्र सुशासन सुधार र डिजिटल प्रणालीको सुरुवात गर्ने, पहिलो वर्षभित्र प्रमुख सरकारी सेवा अनलाइन प्रणालीमा लैजाने र पाँच वर्षभित्र उत्पादनमुखी अर्थतन्त्र, रोजगारी वृद्धि तथा सामाजिक सुरक्षा विस्तारका लक्ष्य हासिल गर्ने उल्लेख गरिएको छ। पार्टीले “समुन्नत नेपाल, सम्मानित नेपाली” निर्माणका लागि परिणाममुखी शासन र आर्थिक रूपान्तरणको नेतृत्व गर्ने दाबी गरेको छ।

सम्बन्धित समाचार