काठमाडौँमा बढ्दो एक्लोपन, मानसिक स्वास्थ्य सार्वजनिक संकट बन्दै

मानसिक स्वास्थ्य समस्या अब व्यक्तिगत विषय मात्र नरहेको निष्कर्ष काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविरले निकालेको छ। शिविरमा सहभागी विभिन्न उमेर समूहका व्यक्तिहरूमा तनाव, एक्लोपन, भविष्यप्रतिको चिन्ता र भावनात्मक दबाब व्यापक रूपमा देखिएको छ।

महानगरपालिकाले जेठ ३० गतेदेखि असार ८ गतेसम्म स्वयम्भू, कमलपोखरी, बौद्ध, इटुम्बहाल, गहनापोखरी, हाँडीगाउँ लगायत ९ स्थानमा शिविर सञ्चालन गरेको थियो। शिविरमा १० वर्षदेखि ८४ वर्ष उमेर समूहका व्यक्तिहरूले परामर्श सेवा लिएका थिए। सेवाग्राहीमध्ये अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहका थिए। लैङ्गिक आधारमा ५५५ महिला, ४०५ पुरुष तथा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक सहभागी भएका थिए।

बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक दबाब

शिविरबाट प्राप्त तथ्याङ्कअनुसार १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरू शैक्षिक नतिजाको अत्यधिक दबाबमा छन्। कम जीपीए आउने डर, अभिभावक र विद्यालयबाट हुने सम्भावित गाली तथा सजायको चिन्ताले उनीहरूको निद्रासमेत प्रभावित भएको पाइएको छ।

अत्यधिक मोबाइल तथा डिजिटल उपकरणको प्रयोगले ध्यान केन्द्रित गर्न नसक्ने समस्या बढाएको छ। कतिपय बालबालिकामा आफूलाई कसैले नबुझेको महसुस हुने र बारम्बार दुर्व्यवहारमा परेकाहरूमा आत्महानीको जोखिमसमेत देखिएको छ।

युवामा करियर र सम्बन्धको चिन्ता

२० देखि २९ वर्ष उमेर समूहका युवाहरू भविष्य, रोजगारी र करियरप्रति अत्यधिक चिन्तित देखिएका छन्। महँगो शहरी जीवनशैली, प्रविधिसँगको प्रतिस्पर्धा र सामाजिक दबाबले उनीहरूमा सामाजिक चिन्ता (सोसल एन्जाइटी) बढाएको पाइएको छ।

विवाह र सम्बन्धका विषयमा पनि युवाहरू अन्योल र तनावमा छन्। सम्बन्ध कसरी स्थापित गर्ने वा स्थापित सम्बन्ध कसरी टिकाउने भन्ने चिन्ताले मानसिक दबाब सिर्जना गरिरहेको परामर्शदाताहरूले बताएका छन्।

अभिभावकमा आर्थिक बोझ र भावनात्मक दमन

३० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूमा आर्थिक दबाब, पारिवारिक जिम्मेवारी र विदेशिएका सन्तानप्रतिको चिन्ता प्रमुख समस्या देखिएको छ। आयको तुलनामा खर्च र पारिवारिक अपेक्षा बढी हुँदा धेरै अभिभावक मानसिक तनावमा रहेको पाइएको छ।

विशेषगरी महिलाहरूले पारिवारिक शान्तिका लागि आफ्ना भावना दबाएर राख्ने गरेको देखिएको छ। मध्यम उमेरका महिलामा मेनोपजसँग सम्बन्धित शारीरिक तथा मानसिक समस्याले थप तनाव सिर्जना गरिरहेको शिविरको निष्कर्ष छ।

ज्येष्ठ नागरिकमा एक्लोपनको गहिरो असर

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूमा सबैभन्दा ठूलो समस्या एक्लोपन रहेको पाइएको छ। बदलिँदो सामाजिक संरचना, छोराछोरी विदेशिने क्रम, संस्कृतिमा आएको परिवर्तन तथा आफ्ना भावना सुन्ने व्यक्तिको अभावले उनीहरूलाई गहिरो मानसिक पीडा दिएको देखिएको छ।

‘मन दुख्छ, तर भावना बुझिदिने कोही छैन’ भन्ने भावना धेरै ज्येष्ठ नागरिकमा साझा रूपमा भेटिएको परामर्शदाताहरूले बताएका छन्।

मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको मुद्दा बनाउनुपर्ने

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले मानसिक स्वास्थ्यलाई घरभित्र लुकाउने विषयका रूपमा नहेर्न आग्रह गर्नुभयो। उहाँका अनुसार मानसिक स्वास्थ्य समस्या शरीरको रोगजस्तै उपचार आवश्यक पर्ने अवस्था हो।

महर्जनले शिविरबाट प्राप्त निष्कर्षले महानगरपालिकालाई मानसिक स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्न महत्वपूर्ण आधार प्रदान गरेको बताउनुभयो।

विद्यालयदेखि समुदायसम्म हस्तक्षेप आवश्यक

शिविरको निष्कर्षअनुसार विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावक सचेतना कार्यक्रम, युवाका लागि रोजगारीका अवसर तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियता बढाउने कार्यक्रम तत्काल आवश्यक देखिएको छ।

महानगरपालिकाले हाल सञ्चालन गरिरहेका मानसिक स्वास्थ्य कार्यक्रमलाई विस्तार नगरे भविष्यमा काठमाडौँ ‘मानसिक समस्याको मौन महामारी’ को जोखिममा पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

सम्बन्धित समाचार