एनआरएनए युरोप सम्मेलन डब्लिनमा सम्पन्न, १५ बुँदे घोषणापत्र जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा अगस्ट १०–११ मा सम्पन्न भएको छ। “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” नाराका साथ आयोजित सम्मेलनमा ३५ भन्दा बढी देशबाट प्रत्यक्ष तथा भर्चुअल गरी ४०० भन्दा बढी सहभागी सहभागी भएका थिए।

रास्वपा संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनलाई परराष्ट्रमन्त्री शिशिर खनाल, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।

सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, डायस्पोरा लगानी, श्रम तथा आर्थिक कूटनीति, सुरक्षित आप्रवासन, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, ज्ञान तथा नवप्रवर्तन र एनआरएनएको रिब्रान्डिङलगायत विषयमा छलफल भएको थियो।

सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र–२०२६ जारी गर्दै गैरआवासीय नेपालीका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्न, वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न तथा डायस्पोराको पूँजी, सीप, अनुभव र सञ्जाललाई नेपालको आर्थिक विकासमा जोड्न सरकारलाई आग्रह गरेको छ।

त्यस्तै, एनआरएनए डेभलपमेन्ट फण्डमा साना तथा ठूला लगानी बढाउने, नेपाली उत्पादन, पर्यटन, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र नेपाली श्रमिकको सुरक्षित तथा मर्यादित रोजगारीका लागि प्रभावकारी श्रम कूटनीति अघि बढाउने विषय घोषणापत्रमा समेटिएको छ।

महिला, युवा तथा दोस्रो पुस्तालाई एनआरएनएको नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने, विश्वभरका नेपाली विज्ञ तथा पेशाकर्मीको ज्ञान र सीपलाई नेपालसँग जोड्ने तथा ‘NRNA Roadmap to 2030’ र रिब्रान्डिङ योजना कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

घोषणापत्रमा एनआरएनएको एकता, सहमति र सहकार्यलाई प्राथमिकता दिँदै आगामी १८औँ युरोप क्षेत्रीय सम्मेलन बेलायत वा पोल्याण्डमध्ये एक देशमा आयोजना गर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार