म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिएको छ। आठौँ म्याग्दी महोत्सवमा सहभागी हुने आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्मको छोटो दूरीमा र्याफ्टिङ सेवा सुरु गरिएको हो।
नेपाल रिभर एक्सप्लोर प्रालिसँगको सहकार्यमा जलयात्रा सुरु गरिएको जानकारी गण्डकी होटलका सञ्चालक गम पुनले दिएका छन्। पुनले हरेक हिउँदमा कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ गराउँदै आइरहेका छन्।
“महोत्सवका दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जन दिन र न्यूनतम शुल्कमा जलयात्राको सुविधा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरेका छौँ,” उनले भने। जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति ८०० रुपैयाँ र बगरफाँटदेखि दोभानसम्म ६०० रुपैयाँ शुल्क तोकिएको छ।
नदीको वरपरका पहाडी भूभाग र बस्तीले कालीगण्डकीलाई र्याफ्टिङका लागि उपयुक्त बनाएको गाइड सन्तोष गिरीले बताए। यात्रुहरूको माग अनुसार लामो दूरीको र्याफ्टिङ पनि सञ्चालन गर्न सकिने उनले जनाए।
हालका लागि दुईवटा बोट सञ्चालनमा छन्, प्रत्येकमा आठ–आठ जना यात्रु सवार हुन सक्छन्। गलेश्वर–बेनी क्षेत्रलाई प्राथमिकता दिइएको भए पनि पर्यटकहरूको इच्छाअनुसार बेनीबाट मालढुङ्गा, नयाँपुल हुँदै मिर्मीसम्म र्याफ्टिङ विस्तार गर्ने योजना रहेको छ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जलयात्राले बेनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। गलेश्वरधामबाट बेनीको दोभान हुँदै मालढुङ्गा, नयाँपुल र मिर्मीसम्मको र्याफ्टिङ सञ्चालनका लागि प्रयास भइरहेको उनले जानकारी दिए।